सुदन गुरुङ भन्छन्–गृहमन्त्री एमालेको नेता हो कि जस्तो लाग्न थालेकाे छ
‘जेनजीलाई समातिराख्नु भएको छ, राजनीतिक पार्टीका नेतालाई छोएको पनि छैन’
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते ००:१७
काठमाडौं। ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको बताएका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका गुरुङले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताएका हुन्।
उनले गृहमन्त्रीले जेनजीहरुलाई पक्राउ गर्ने र राजनीतिक पार्टीका नेताहरुलाई नछोएका कारण पनि आफूलाई गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको बताएका हुन् ।
उनले भने, ‘गृह मन्त्रालयले काम गर्न सकेको छैन्। गृहमन्त्रीको एजेण्डा भनेको चुनाव मात्र रहेछ। हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ। उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ। पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन्। मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ।’
गुरुङले जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको भन्दै त्यस अनुसार चल्न नसके मार्गप्रशस्त गर्न सुझाव समेत दिएका छन् ।
Facebook Comments