बजेटले नपुग्ने भएपछि गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नै लगानीमा सडक निर्माण गर्दै
तीन वर्षदेखि आफ्नो तलब–भत्ता सामाजिक सेवामा
मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत रूपमा २० लाख रुपैयाँ लगानी गरेर मनहरी–२ मा २०० मिटर लामो सडक निर्माण गर्ने घोषणा गरेका छन्। लामो समयदेखि धुलो, हिलो र आवागमनको कठिनाइ भोग्दै आएका स्थानीयबासीको मागलाई सम्बोधन गर्न अध्यक्ष कालाखेतीले आफ्नो निजी स्रोतबाट सडक निर्माण अघि बढाउने निर्णय गरेका हुन्।
अध्यक्ष कालाखेतीले पछिल्ला तीन वर्षसम्म आफ्नो तलब–भत्ता सामाजिक सेवामा खर्च गर्दै आएका छन्। यस अवधिमा उनले चेपाङ समुदायका बालबालिकालाई ड्रेस वितरण, एकल महिलालाई घर निर्माण सहयोग, विपन्न परिवारलाई राहत लगायतका गतिविधि निरन्तर रूपमा गर्दै आएका थिए। अब सडक निर्माण सुरु भएसँगै स्थानीयले प्रत्यक्ष सुविधा पाउने अपेक्षा गरिएको छ।
उनका अनुसार गाउँपालिकाको नियमित बजेटले मात्र सबै आवश्यकता पूरा गर्न नसक्ने अवस्थालाई देखेर निजी लगानीमार्फत सडक निर्माणको पहल गरिएको हो। “जनताको पीडालाई प्राथमिकतामा राखेर काम गर्दा तलब–भत्ता भन्दा ठूलो सन्तुष्टि समाजले दिएको विश्वास हो,” अध्यक्ष कालाखेतीले भने।
स्थानीयबासीले पनि अध्यक्ष कालाखेतीको कदमलाई स्वागत गरेका छन्। वर्षौँसम्म धुलो–हिलोले सास्ती खेप्दै आएको बताउँदै उनीहरूले सडक निर्माण सुरु हुने भएकोमा खुसी व्यक्त गरेका छन्। किसान, विद्यार्थी, बृद्धबृद्धा र दैनिक यात्रु सबैका लागि यो सडकले सहज बनाउने विश्वास लिइएको छ ।
सडक निर्माणका प्रारम्भिक कार्य सुरु भइसकेका छन्। कार्य सम्पन्न भएपछि सो क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीय विकासमा टेवा पुग्ने जनाइएको छ।
Facebook Comments