मृत्युदण्डको फैसला सुनेपछि के भन्छिन् बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ?

मृत्युदण्डको सजाय अस्वीकार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते ०६:४५
Image of https://mayorsap.com/storage/photos/shares/sekh-hashina.png

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध सुनाइएको मृत्युदण्डको सजाय अस्वीकार गरेकी छन् । नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा हसिनाले अदालतले सुनाएको फैसला पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण भएको बताएकी हुन् । 

उनले फैसला पूर्व निर्धारित निष्कर्ष भएको भन्दै विपक्षी दलका हिंसालाई बेवास्ता गरेर आफ्नो पार्टीका सदस्यहरुलाई विशेष रुपमा मुद्दा चलाइएको आरोप लगाएकी छन् ।

हसिनाले भनिन्, ‘विश्वका कुनै पनि साँच्चै सम्मानित वा व्यवसायिक कानुनविद्ले बंगलादेश आईसीटी (अदालत) लाई समर्थन गर्दैनन् ।’ बंगलादेशको अन्तिम निर्वाचित प्रधानमन्त्री (आफू)लाई हटाउन अदालत प्रयोग भएको उनको दाबी छ ।

गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले  तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । 

गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्काली प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाहा बनेका कारण ५ वर्षको सजाय सुनाइएको छ ।


Facebook Comments