काठमाडौं महानगरको राजस्व ३ अर्ब २२ करोड नाघ्यो
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते २२:०८
काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ६५ लाख रुपियाँले बढी हो । महानगरको यस वर्षको राजस्व प्रक्षेपण १५ अर्ब ११ करोड रहेको छ ।
राजस्व विभागका अनुसार यस अवधिमा कुल राजस्व सङ्कलन बढे पनि आन्तरिक करतर्फ २ करोड २० लाख रुपियाँले गिरावट आएको छ । आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति कर सङ्कलनमा आएको कमी हो ।
गत वर्ष बढी कर तिरेका करदाताहरूको यस वर्ष कर समायोजन गरिएकाले सम्पत्ति कर घटेको राजस्व विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए ।
यता, सर्वोच्च अदालतको फैसलापछि वहाल कर स्थानीय सरकारको क्षेत्राधिकारमा आएकाले वहाल कर सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
व्यवसाय करमा सामान्य वृद्धि भएको छ भने सहरमा भवन निर्माणको क्रम घट्दा भवन नक्सा शुल्क सङ्कलन घटेको छ ।
Facebook Comments