विवादित व्यक्ति भट्टलाई सदस्यसचिव बनाउने सरकारको निर्णय

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १८:३३
Image of https://mayorsap.com/storage/photos/shares/manoj-bhatta.jpg

काठमाडौं । सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम टुङ्ग्याएको हो ।

भट्टको नियुक्तिप्रति जेन–जी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले अनियमितताको आरोप लागेका र कार्यसम्पादन राम्रो नभएका व्यक्तिलाई फेरि नियुक्त गर्न खोजिएको भन्दै मन्त्रीहरूलाई भेटेर विरोध जनाएका थिए ।

भट्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु देउवासँग निकट मानिन्छन् । यसअघि देउवा प्रधानमन्त्री हुँदा २०७८ मङ्सिरमा उनी सदस्यसचिवमा नियुक्त भएका थिए ।

उनीविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी परेपछि विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । असोज २०८० मा तत्कालीन मन्त्री सुरेन्द्र आचार्यले हटाए पनि सर्वोच्चको अन्तरिम आदेशबाट उनी परिषद्मा फर्किएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले अनियमितताको आरोपमा छानबिन भएका व्यक्तिलाई नै जेन–जी आन्दोलनको बलमा गठन भएको सरकारले दोहोर्याएको भन्दै आश्चर्य व्यक्त गरेको छ ।


Facebook Comments