स्थानीय तहमा पठाइने अनुदान कटौती नगर्ने लुम्बिनी प्रदेशकाे घोषणा
सेवा प्रवाह छिटो बनाउन आग्रह
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १८:३२
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई छिटो र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान ध्यान दिनुपर्ने बताएका छन् ।
बुधबार गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँगको छलफलमा मुख्यमन्त्री आचार्यले स्थानीय तहमा पठाइने अनुदानमा कटौती नहुने स्पष्ट पारेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास योजनामा २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरे पनि स्थानीय तहमा पठाइने समपूरक, विशेष र समानीकरण अनुदानमा कटौती नगरिने उनले स्पष्ट पारेका हुन् ।
महासङ्घले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश–स्थानीय समन्वय परिषद्को बैठक तत्काल बोलाउन आग्रह गरेको छ ।
साथै, महासङ्घले भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा स्थानीय तहका कार्यालयमा भएको क्षतिको पुनर्निर्माण योजना बनाउनसमेत माग गरेको छ ।
Facebook Comments