सिमरा घटना : एमालेबाट निर्वाचित दुई वडाध्यक्ष पक्राउ

तनावग्रस्तपछि कफ्र्यू आदेश जारी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते ०३:४४
Image of https://mayorsap.com/storage/photos/shares/pakk.jfif

रौतहट । बाराको सिमरामा जेन–जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको अनुसन्धानका लागि प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

झडपमा घाइते भएका जेन–जी समूहका ’सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, नियन्त्रणमा लिइएका दुई जना वडाध्यक्षको प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ ।

घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि सिमराका युवाहरू सडकमा उत्रिएका छन् । सिमरा बजार क्षेत्र पुनः तनावग्रस्त बनेको छ ।

उत्पन्न तनावलाई थप भड्किन नदिन स्थानीय प्रशासनले दोस्रो दिन पनि कफ्र्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको हो ।


Facebook Comments