सामाजिक सुरक्षा भत्ताधारीलाई छत्रपाटी चिकित्सालयमा निःशुल्क उपचार

काठमाडौं महानगरको ऐतिहासिक पहल

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १४:१६
Image of https://mayorsap.com/storage/photos/shares/ktm-mahanagaar.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ ।

चालु आर्थिक वर्षका लागि भएको यस सम्झौताअनुसार महानगरपालिकाले विनियोजन गरेको १ करोड ५० लाख रुपियाँमा अस्पतालले ३० प्रतिशत थप गरी १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।

लक्षित वर्गका साथै महानगरका जनप्रतिनिधि र कर्मचारीहरूलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा प्रदान गरिनेछ ।

उपप्रमुख सुनिता डंगोलले यस कदमबाट आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरूले पनि ‘महानगरपालिका छ’ भन्ने महसुस गर्ने सुखद नतिजाको प्रारम्भ भएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सेवा दुरुपयोग हुन नदिन आवश्यक प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरेका छन् ।

सेवा लिनका लागि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचयपत्र, नागरिकता वा कर्मचारी–जनप्रतिनिधिलाई परिचयपत्र आवश्यक पर्नेछ ।


Facebook Comments