निर्वाचनमा रगत बग्न नदिन सेनालाई प्रधानमन्त्रीको निर्देशन

सेना परिचालन योजनाबारे ब्रिफिङ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १६:३०
Image of https://mayorsap.com/storage/photos/shares/sushila-oj49e33dju.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे जानकारी लिएकी छिन् ।

जंगी अड्डामा प्रधानमन्त्रीलाई हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र निर्वाचन सुरक्षामा सेना परिचालनको योजनाबारे विस्तृत ब्रिफिङ दिइएको थियो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिँदै भनिन्, ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन ।’

उनले निर्वाचन सुरक्षामा समन्वय, प्रहरी कारबाहीलाई सहजीकरण र सबै राजनीतिक गतिविधि बिना अवरोध सञ्चालन गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजी र नियन्त्रण तथा फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न कुनै कसर बाँकी नराखी खट्न पनि सेनालाई आग्रह गरिन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।


Facebook Comments