युवा उद्यमीलाई कृषि कर्जामा ब्याज अनुदान दिँदै सिञ्जा गाउँपालिका
युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १७:००
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले स्थानीय कृषि उद्यमी र बेरोजगार युवालाई राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सरल कृषि कर्जामा ब्याज अनुदान दिने भएको छ ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि बढीमा १० लाखसम्म उपलब्ध गराइनेछ । बैंकको आधार दरमा ५ प्रतिशत प्रिमियम जोडिएको ब्याजदरमा गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई १ प्रतिशत ब्याज अनुदान दिनेछ ।
१८ देखि ६५ वर्ष उमेरका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
गाउँपालिकाका प्रवक्ता तीर्थ वडले यो कर्जा लगानीपश्चात् कृषिउपजको व्यावसायिक उत्पादन बढ्ने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा सहभागी हुन चाहने व्यावसायिक युवालाई आवश्यक कागजातसहित आवेदन दिन गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
Facebook Comments