मध्यरातमा पवित्राले गरिन् श्रीमानमाथि चक्कु प्रहार
श्रीमतीको आक्रमणबाट गुरुङ गम्भीर घाइते
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १६:०९
बुटवल । बुटवल उपमहानगरपालिका–११ नहरपुरमा मङ्गलवार राति श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् गम्भीर घाइते भएका छन् ।
३० वर्षीय सुरज गुरुङलाई उनकी श्रीमती, ३८ वर्षीया पवित्रा गुरुङले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते गुरुङ बुटवलको नगर प्रहरीमा कार्यरत छन् ।
प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार, चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।
वडा सदस्य नकुल शाही ठकुरीका अनुसार पवित्राले विगत तीन–चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएकी थिइन् । श्रीमान्–श्रीमतीबीच नियमितजस्तो झैझगडा हुने गरेको र सुरज राति अलग्गै कोठामा सुत्ने गरेका थिए ।
मङ्गलवार राति अलग्गै कोठामा सुतेका सुरजको ढोका फोडेर पवित्राले चक्कु प्रहार गरेको वडाध्यक्ष शाहीले बताए । एक्कासि आक्रमण भएपछि सुरज ज्यान जोगाउन बाहिर भागे पनि उनलाई बाहिर आएपछि टाउको र घाँटीमा चक्कु प्रहार गरिएको थियो ।
हो–हल्ला सुनेर छिमेकीहरू पुगेपछि घाइते सुरजलाई तत्काल अस्पताल पठाइएको थियो भने आरोपी पवित्रा गुरुङलाई प्रहरीको जिम्मा लगाइएको छ ।
Facebook Comments