बेनीकोटमा उत्पादित करोडौँको सुन्तला बजारीकरणमा समस्या
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १४:४२
तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट (सुनकोटको रूपमा परिचित) मा सुन्तलाको व्यावसायिक उत्पादन बढ्दै गए पनि बजारीकरणमा मुख्य समस्या देखिएको छ ।
विशेष गरी भिरालो सडकको स्तरोन्नति नहुँदा सुन्तला ढुवानी जोखिमपूर्ण हुने गरेको स्थानीय कृषकहरूले बताएका छन् ।
बेनीकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्ला बाहिर गइरहेको छ । तर, जोखिमपूर्ण बाटोका कारण जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा रहेको स्थानीय कृषक लेखबहादुर थापाले बताए ।
उत्पादन र आम्दानी
बेनीकोटमा सुन्तलाका बोट नभएका घर विरलै छन् । यहाँ एक घरमा कम्तीमा २० देखि आठ सय बोटसम्म सुन्तला लगाएर व्यावसायिक खेती गरिँदै आएको छ ।
यतिबेला यहाँका कृषकहरू सुन्तला बिक्रीमा व्यस्त छन् । यस वर्ष बेनीकोटका स्थानीयले सुन्तलाबाट रु दुई करोड बढी आम्दानी गरेका छन् ।
कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेका छन् । यस्तै, तारा थापाले रु तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेका छन् ।
ढुवानीमा जटिलता
सुन्तला खरिद गर्न ठेकेदारहरू गाउँमै पुग्ने र बोट किन्ने प्रचलन रहेकाले किसानहरूलाई बिक्रीमा सहज भएको छ । मूल्य कायम भएपछि ठेकेदार आफैँले फल टिप्ने र गाडीमार्फत काठमाडौँ, चितवन, पोखरासम्म ढुवानी गर्ने गर्छन् । तर, ढुवानीका क्रममा खरिदकर्ताहरूले सडक असहज भएकोमा गुनासो गर्ने गरेको कृषक दिनबहादुर थापाले बताए ।
यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा केही कमी आएको कोटगाउँका दिपक थापाले बताए । उनले पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको जानकारी दिए ।
सदरमुकाम दमौलीबाट मात्र सात किलोमिटरको दूरीमा रहेको यो स्थान सुन्तलाखेतीको मुख्य केन्द्रका रूपमा परिचित छ ।
Facebook Comments