लम्कीचुहामा ५० शय्याको सामुदायिक अस्पताल अलपत्र
भुक्तानी विवादले काम ठप्प
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १४:३२
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१०, चुहामा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन ५० शय्याको सामुदायिक अस्पतालको काम पाँच वर्षदेखि अलपत्र परेको छ ।
निर्माण कम्पनी केएस–शनिदेव जेभी महेन्द्रनगरले काम गरेबापतको भुक्तानी बाँकी रहेको भन्दै झन्डै दुई वर्षअघि काम रोकेपछि अस्पताल निर्माण कार्य अवरुद्ध बनेको हो ।
वडा अध्यक्ष हर्कबहादुर कठरिया थारुका अनुसार, निर्माण कम्पनीले ५० लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको दाबी गर्दै काम रोकेको हो । यद्यपि, नगरपालिकाका इन्जिनियर भरतराज जोशीले भने कम्पनीले काम गरेबापतको भुक्तानी लिइसकेको जानकारी दिएका छन् ।
निर्माण कार्य रोकिएपछि बनेका संरचना (क्वार्टरसहितका) हरूको संरक्षण हुन सकेको छैन । ती भवनहरू लागुऔषध दुर्व्यसनीहरूको गलत कार्यस्थल बनेको र झ्याल, ढोका, तथा सामग्री चोरी भइरहेको वडा अध्यक्ष थारुले बताए ।
आर्थिक वर्ष २०७७–७८ मा दुई वर्षभित्र काम सक्ने गरी भ्याटसहित १४ करोड ८५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तत्कालीन नगर प्रमुख महादेव बजगाईँले आफ्नो पालामा काम सुरु भए पनि नेतृत्व बदलिएसँगै काम रोकिएकोमा दुःख व्यक्त गरे ।
Facebook Comments