जनकपुर–ढल्केबर ६ लेन सडकखण्डमा तीन आकासे पुल बन्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०९:५२
धनुषा । धनुषाको मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर ६ लेन सडकखण्डका तीन अत्यन्त व्यस्त र जोखिमयुक्त स्थानमा आकासे पुल निर्माण सुरु भएको छ ।
पैदलयात्रुको चाप, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना नियन्त्रण गर्नका लागि सडक डिभिजन कार्यालयले करिब रु १० करोड ५० लाखको लागतमा यो परियोजना अघि बढाएको हो ।
लक्ष्मीनियाँ बजार, महेन्द्रनगर बजारको महिला विकास चोक, र सखुवा चोकमा पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालयका इन्जिनियर उज्जवल झाले बताए ।
तीनवटै पुल ५.६ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् । सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सूर्यबहादुर शाहीले आकासेपुल निर्माणपछि ट्राफिक व्यवस्थापनमा सहजता आउने र दुर्घटनाको उच्च जोखिम कम हुने विश्वास व्यक्त गरे ।
Facebook Comments