जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १७:१९
स्याङ्जा । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिक पुतलीबजार नगरपालिका–८ (हाल वडा नं १४, पिपलडाली) बस्ने ५७ वर्षीय मेग बहादुर भुजेल रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
भुजेलले २०६९ भदौ २७ गते पुतलीबजार–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते १५ वर्ष कैद सजाय ठहर गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले सफलतापूर्वक पक्राउ गरेको हो ।
भुजेललाई जिल्ला अदालत स्याङ्जामा पेस गरी अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments