मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त
सात दलीय गठबन्धनको समर्थन
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०९:५३
जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादव सात दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थन रहेको छ ।
यसअघि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमालेका सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएका थिए ।
एमाले नेतृत्वको सरकारविरुद्ध परेका रिटहरूको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्सिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन र नसके उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्न परमादेश जारी गरेपछि यो राजनीतिक घटनाक्रम अघि बढेको हो ।
Facebook Comments