लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०९:४५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’मा मुख्यमन्त्री शाहले जनतालाई सुसूचित गराउन, एकतामा बाध्न सञ्चारमाध्यमको योगदान रहेको धारणा राखे। “जनतालाई स्वतन्त्र बनाउन, अधिकार सम्पन्न बनाउन यो क्षेत्रको ठूलो भूमिका छ”, उनले भने, “यस अर्थमा हामीले समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीको सम्मान गर्नुपर्छ ।”
जुनसुकै राजनीतिक आस्था, सैद्धान्तिक विचार, सिद्धान्त अवलम्बन गरे पनि लोकतन्त्रलाई स्थापित गराउँदै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन र विकास गर्न गर्ने सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान रहेको मुख्यमन्त्री शाहले उल्लेख गरे।
केही दिनअघि मात्र सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि प्रदेश राजधानी फर्किएका मुख्यमन्त्री शाहले पहाडको जनजीवन, दैनिकी, समस्यालगायत त्यहाँका नागरिकको वास्तविक अवस्था बुझ्न भ्रमण उपलब्धिमूलक रहेको धारणा राखे। उनले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ पुगेको जानकारी दिए ।
प्रदेश सरकारको लगानीमा अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको मुख्यमन्त्री शाहले बताए। प्रदेश संरचनाका बारेमा केही भ्रम सृजना भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको संरक्षणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुनु भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि कलम चलाउन आग्रह गरे।
Facebook Comments