बाजुरामा 'भुवा' पर्व : ढाल र तरबारसहित पाण्डवको विजय गाथा गाउँदै स्थानीय

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष ४ गते १६:३३
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_3.png

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा दशैँ–तिहारपछिको दोस्रो ठुलो चाडका रूपमा चिनिने ऐतिहासिक ‘भुवा’ पर्व भव्य रूपमा सुरु भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा परम्परागत संस्कृति र विजयी उत्सवको गाथामा आधारित यो मौलिक पर्व उत्साहका साथ मनाउन थालिएको हो ।

बाजुरासहित सुदूरपश्चिमका अछाम, डोटी, बझाङ र दार्चुला लगायतका जिल्लामा भुवा पर्वको विशेष रौनक देखिन्छ । यसलाई ‘भस्सी जात्रा’, ‘भस्सो’ वा ‘भुवा’ पनि भन्ने गरिन्छ । यो पर्व सुदूरपश्चिममा मात्र सीमित नभई छिमेकी देश भारतको उत्तराखण्ड क्षेत्रमा समेत मनाउने गरिन्छ ।

“भुवा पर्व, हाम्रो गर्व तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन, भुवा पर्वको संरक्षण” भन्ने मूल नाराका साथ यस वर्ष पुस ३ देखि ६ गतेसम्म यो पर्व परेको छ । विशेषगरी बाजुराको बडीमालिका, बुढीगंगा र गौमुलमा यो पर्वको प्रभाव अझ बढी देखिन्छ ।

महाभारतको कथा र पाण्डव–कौरवको युद्ध गाथामा आधारित यो पर्वलाई विजयी उत्सवका रूपमा लिने गरिन्छ । स्थानीय हिरालाल पाध्यायका अनुसार, महाभारत युद्धमा रात परेपछि उज्यालोको अभाव हुँदा राँको सल्काएर लडाइँ जारी राखेको स्मरणमा मध्यरातमा राँके जुलुस निकाल्ने गरिएको हो ।

भुवा पर्वका आकर्षण र विधि
पुसे औँसीको अघिल्लो मध्यरातमा मुडा सल्काएर भुवाखाडोमा रमाइलो गरिन्छ । बिहान करिब ४ बजे निगालोको झरो सल्काएर ‘भोस्सो’ खेलिन्छ, जसलाई राँका सल्काउनु भनिन्छ । त्यसपछि खोलामा गएर नुहाउने चलन छ । चिसो रातमा नुहाउँदा छाला सम्बन्धी रोग निको हुने र मान्छेमा शक्ति पैदा हुने जनविश्वास छ ।

पर्वको अवधिभर पुरुषहरूले हातमा तरबार र खुकुरी लिएर युद्ध कला प्रदर्शन गर्दछन् । ढाललाई कालो रङले पोतेर र तरबारलाई धारिलो बनाएर चम्काइन्छ ।

घरमा जेठो छोरा जन्मिएको एक वर्ष पूरा भएपछि गाउँलेहरू भेला भएर ‘छैट’ माग्ने चलन छ । आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने र मान्यजनले बच्चालाई आशीर्वाद दिने यो पर्वको मुख्य विशेषता हो ।

पर्व अवधिभर विभिन्न धार्मिक आस्था समेटिएका मागल, देउडा र जीवनशैली सम्बन्धी गीत गाउँदै ‘भारी खेल’ खेलिन्छ । चौभानिया भाइ, सरबा टोटली र ज्युउनापुरी धारुमल्यो जस्ता खेलहरू यसका मुख्य आकर्षण हुन् ।

बडीमालिका–७ भुवा पर्व मेला व्यवस्थापन समितिका संयोजक उमाकान्त पाध्यायका अनुसार, यो पर्व आपसी सद्भाव, भेटघाट र मित्रताको प्रमुख माध्यम हो । टाढा रहेका आफन्तहरूसँगको भेटघाटले भाइचाराको सम्बन्ध स्थापित गर्न ठुलो सहयोग पुग्ने भएकाले यसको संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।

सामान्यतया ३ देखि ५ दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन सबै मानिस जम्मा भई मान्यजनबाट टिका (पिठायो) थापेर आशीर्वाद लिने र चाली खेलेर समापन गर्ने गर्दछन् । बाजुराको रजातोली, मार्तडी, जुगाडा, पाण्डुसैन र ब्रह्मतोला लगायतका क्षेत्रमा यो पर्वको विशेष रौनक देख्न पाइन्छ ।


Facebook Comments