संकटमा पुर्ख्यौली पहिचान र लोक-संस्कृति
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १४:३२
काठमाडौं । कुनै समय मधेसका गाउँघरमा शुभकार्यदेखि अन्तिम बिदाइसम्म गुञ्जने ’डफला’ बाजाको अस्तित्व अहिले संकटमा परेको छ ।
आधुनिक डिजे र चर्को स्वरका ब्यान्ड बाजाको बढ्दो प्रयोगले मधेसको यो प्राचीन र मौलिक ताल बाजालाई विस्थापित गर्दै लगेको हो ।
भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप मानिने ’डफला’ बाजा सिसौ वा कर्माको काठलाई गोलाकार बनाएर छालाले मढेर तयार गरिन्छ ।
लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय वादक राम उजागिर चमारका अनुसार, डफलाको सम्बन्ध होली, दीपावली र वसन्त पञ्चमीजस्ता पर्वहरूसँग प्रत्यक्ष जोडिएको छ । विशेषगरी फागु गीत (होरी) गाउँदा डफलाको तालले आपसी सद्भाव र एकताको सञ्चार गर्ने गर्दछ ।
किन हराउँदैछ डफला?
८० वर्षीय स्थानीय झगरु मुरावका अनुसार, नयाँ पुस्ताको आधुनिकतातर्फको आकर्षण, वैदेशिक रोजगारीको मोह र न्यून आर्थिक लाभका कारण यो मौलिक कला सम्झनामा मात्र सीमित हुन थालेको छ ।
यस्तै, पेसागत पुस्तान्तरण नहुनु र यसलाई निश्चित समुदायको मात्र सीप मानिनुले पनि डफला संकटमा परेको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरई बताउँछन् ।
डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाउन थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले कलाकारलाई प्रोत्साहन भत्ता र सामूहिक वादन प्रतियोगितामार्फत यो कलालाई बचाउने योजना रहेको बताइन् ।
यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य वसीउद्दीन खाँले डफलालाई विद्यालयको पाठ्यक्रममा समावेश गरी जातीय घेराभन्दा बाहिर ल्याएर तालिम दिनुपर्नेमा जोड दिइन् ।
राज्य र समुदाय दुवैले संरक्षणमा सक्रियता नदेखाए अवध संस्कृतिको यो वैभव इतिहासका पानामा मात्र सीमित हुने जोखिम बढेको छ ।
Facebook Comments