राष्ट्रिय सभाको अधिवेशन बोलाउने सरकारकाे तयारी

सिंहदरबारको समिति हलमा बैठक बस्ने

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १७:५३
Image of https://mayorsap.com/storage/photos/shares/rastiya-sava.png

काठमाडौं । सरकारले आगामी पुस तेस्रो वा चौथो साताभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने तयारी थालेको छ । यस सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग छुट्टाछुट्टै परामर्श गरिसकेका छन् ।

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच पुस १४ गते सिंहदरवारमा भएको भेटवार्तापछि सरकारले अधिवेशनको प्रक्रिया अघि बढाएको हो । मन्त्री खरेलका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे औपचारिक छलफल हुने सम्भावना छ । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान छ ।

गत भदौको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनसँगै भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा क्षति पुगेकाले यसपटकको अधिवेशन सिंहदरबारभित्रै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले हल व्यवस्थापनको सिभिलतर्फको काम सकिएको र अडियो–भिडियो जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । यस अधिवेशनमा सरकारले ल्याएका नयाँ अध्यादेश, विचाराधीन विधेयक, संसदीय समितिका प्रतिवेदनहरू र सांसदका सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल हुनेछ ।


Facebook Comments