ग्रामथान गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षका समर्थकबीच झडप

लेखा शाखाको ताला फुटाइयो

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १४:१३
Image of https://mayorsap.com/storage/photos/shares/bibad.png

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको राजनीतिक टकरावले उग्र रूप लिएको छ । 

उपाध्यक्ष गुणवतीदेवी थारूले लेखा शाखामा लगाएको ताला अध्यक्ष नमोनारायण माझीका समर्थकहरूले बिहीबार जबर्जस्ती फुटाएपछि पालिका कार्यालय परिसर तनावग्रस्त बन्यो ।

अध्यक्ष माझीले एकलौटी ढंगले गाउँसभा सम्पन्न गरेको र बजेट पुस्तिकामा आफ्नो मन्तव्य समेत समावेश नगरेको भन्दै उपाध्यक्ष थारूले लेखा शाखामा तालाबन्दी गरेकी थिइन् ।

ताला खोल्न माग गर्दै पुगेका अध्यक्षका समर्थक र तालाको सुरक्षामा बसेका उपाध्यक्ष पक्षका जनप्रतिनिधिबीच कार्यालयभित्रै हातहालाहाल र बाझाबाझ भएको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

के हो विवाद?
उपनिर्वाचन पछिको सत्ता संघर्ष गत मङ्सिरमा भएको उपनिर्वाचनमा माओवादी केन्द्रबाट माझी अध्यक्ष निर्वाचित भएपछि एमालेको बहुमत रहेको कार्यपालिकामा लगातार विवाद भइरहेको छ ।

अध्यक्ष माझीले आफूलाई बहुमतका नाममा काम गर्न नदिएको आरोप लगाउँदै आएका छन् भने उपाध्यक्ष थारूले अध्यक्षले मनोमानी र निषेधको राजनीति गरेको दाबी गरेका छन् ।

यसअघि पुस ९ गते विराटनगरको सडकमा गाडीको साँचो खोसाखोस गर्ने विषयलाई लिएर दुई पक्षबीच सार्वजनिक रूपमै झगडा भएको थियो । जनप्रतिनिधिहरूको यो जुँगाको लडाइँले गर्दा ग्रामथानको विकास र प्रशासनिक कामहरू ठप्प भएका छन् ।


Facebook Comments