मौलिक पहिरनसँगै संस्कृति जोगाउँदै शुक्लाफाँटाका महिलाहरू
ढल्कँदो उमेरमा 'छलो' नृत्यको जगेर्ना
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १०:४५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी ७० वर्षीया द्रोपती धामीको जोश आजभोलि फेरिएको छ । तीन दशकअघि दार्चुलाको धुलगडाबाट तराई बसाइँ सर्दा उनले आफ्नो थातथलो मात्र छोड्नुभएन, विस्तारै आफ्नो मौलिक संस्कृति र पहिरन पनि हराउँदै गएको महसुस गरिन् । तर, अहिले द्रोपती र उनका दौँतरीहरू मिलेर सुदूरपश्चिमको गौरव मानिने ’छलो’ (छलिया) नृत्य र परम्परागत पहिरनलाई पुनर्जीवन दिइरहेका छन् ।
तराई झरेसँगै लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले टको, झुमझुमी, पागडो, घाँघरो, चोलो र डोरीजस्ता मौलिक पहिरन विस्थापित भएका थिए । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ, तर तराईमा त्यो सबै हराउन थालेको थियो,“ द्रोपती धामी सम्झिन्छन् ।
आफ्नो पहिचान मेटिन लागेको चिन्ताले स्थानीय महिलाहरूलाई सङ्गठित बनायो । उनीहरूले ‘छलो समाज’ गठन गरेर हराइसकेका पहिरन सिउन सुरु गरे । अहिले यस समाजमा २२ देखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन् । पाका पुस्ताले तन्नेरीहरूलाई नृत्य सिकाउने र पहिरनको महत्त्व बुझाउने काम गरिरहेका छन् ।
समाजकी सदस्य चन्द्रा ठगुन्नाका अनुसार, एउटा सेट पहिरन तयार गर्न रु ३ देखि ५ हजारसम्म खर्च लाग्छ । खर्चिलो भए पनि आफ्नो पहिचान जोगिएकामा उनीहरू सन्तुष्ट छन् । अहिले यी महिलाहरू गौरा, देउडा प्रतियोगिता, विद्यालयका वार्षिकोत्सव र विभिन्न सामाजिक समारोहमा आफ्नै मौलिक भेषभूषामा सजिएर छलो नृत्य प्रदर्शन गर्छन् ।
सुदूरपश्चिमको पहाडी भेगमा महिलाहरूले ८ देखि १२ पाटासम्मको ’छिट’को घाँघरो, चोलो, आँगडो, टाउकोमा सेतो टँको र कम्मरमा सेतो पागडो बाँध्ने गर्छन् । गहनामा सुनको नथिया, मुदणा, बुलाकी, चाँदीका बाला र सुत्ता लगाउने चलन छ । यस्तो पहिरन लगाउनेलाई पहिले सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो ।
संस्कृति जोगाउने अभियान सफल भए पनि बाजाको भने अभाव खड्किएको छ । छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटा पञ्चेबाजाको अभाव रहेको गुनासो गर्छन् । ‘बाजाबिना छलो अधुरो हुन्छ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने ।
सुदूरपश्चिमको इतिहास र सांस्कृतिक आत्मा जोगाउन पारिफाँटाका महिलाहरूले चालेको यो कदम अहिले वरपरका गाउँका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।
Facebook Comments