विपद्को पूर्व जानकारी दिन राजपुरमा ‘स्वचालित साइरन’ जडान

कुन विपद्मा कस्तो आवाज?

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते ११:३३
Image of https://mayorsap.com/storage/photos/shares/photo_30.jpg

रौतहट । रौतहटको राजपुर नगरपालिकाले सम्भावित बाढी, आगलागी र चट्याङ जस्ता प्राकृतिक विपद्बाट नगरवासीलाई जोगाउन आफ्नो प्रशासकीय भवनमा ’आधुनिक स्वचालित साइरन सेट’ जडान गरेको छ ।

रेन परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापित यो प्रणालीले आपतकालीन अवस्थामा तत्कालै सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखेको छ । नगरपालिकाले यो अभियानलाई ‘एक नम्बर, एक आवाज—सयौँको सुरक्षा’ भन्ने नाराका साथ अघि बढाएको हो ।

बाढी, आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका लागि फरक–फरक आवाजहरू निर्धारण गरिएको छ, जसले गर्दा नागरिकले आवाज सुनेकै भरमा कुन प्रकारको विपद् आउन लागेको हो भन्ने थाहा पाउनेछन् ।

नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस.एम.एस. मार्फत जहाँसुकैबाट पनि तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि जडान गरेको छ । विपद्को पूर्वजानकारी पाउनेबित्तिकै साइरन बज्ने हुनाले स्थानीयले सुरक्षित स्थानतर्फ लाग्न पर्याप्त समय पाउनेछन् ।

नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिका विपद्को हिसाबले संवेदनशील क्षेत्र भएकाले यो प्रणालीले मानवीय जीवन बचाउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, यो प्रणालीको नियमित परीक्षण गरिने र यसबारे नागरिकलाई बुझाउन सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ ।


Facebook Comments