वीरगन्ज महानगरपालिकामा आज शोक बिदा

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १२:००
Image of https://mayorsap.com/storage/photos/shares/biraganj-mahanagar.jpg

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा लामो समयदेखि कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनको शोकमा महानगरपालिकाले आज शोक बिदा दिएको छ । २०५२ सालदेखि निरन्तर सेवामा रहेका थापाको निधनले महानगर परिवार मर्माहत भएको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

गत पुस ६ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका थापाको उपचारकै क्रममा पुस १२ गते निधन भएको थियो । झन्डै तीन दशकदेखि महानगरमा इमानदारीपूर्वक कार्यरत कर्मचारी गुमाउनु पर्दा कर्मचारी वृत्तमा गहिरो पीडा सिर्जना गरेको छ ।

थापाको सम्मानमा शुक्रवार बिहान महानगरपालिकाको प्राङ्गणमा एक विशेष शोक सभा आयोजना गरिएको छ । महानगर प्रमुखको उपस्थितिमा भएको उक्त सभामा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित सम्पूर्ण कर्मचारीहरूले मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार, महानगरले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शुक्रवारका लागि बिदा दिने निर्णय गरेको हो । स्वास्थ्य र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहनेछन् ।


Facebook Comments