पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १५:३०
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ । पार्टीका बहुमत महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा १७ (२) बमोजिम यही पुस २७ र २८ गतेभित्रै विशेष महाधिवेशन सम्पन्न गर्न जोडदार माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनका मागकर्ताहरूले विधानले तोकेको तीन महिने समयसीमा पुस २८ गते सकिने भएकाले सोही अवधिभित्रै महाधिवेशन गर्न नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।
गत असोज २९ गते देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
केन्द्रीय कार्यसमितिले पुस २६–२८ का लागि तय गरेको नियमित महाधिवेशनको कार्यतालिका स्थगित भइसकेको अवस्थामा विशेष महाधिवेशन नै एकमात्र वैधानिक विकल्प भएको उनीहरूको तर्क छ ।
नेताहरू देवराज चालिसे, मनोजमणि आचार्य, प्रमोदहरि गुरागाईं लगायतले पार्टीलाई गतिशील बनाउन र नयाँ नीति निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको बताए ।
पार्टी विधान अनुसार विशेष महाधिवेशनको माग गर्दै निवेदन दर्ता भएको तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधानलाई उनीहरूले मुख्य आधार बनाएका छन् ।
Facebook Comments