दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते २०:०३
Image of https://mayorsap.com/storage/photos/shares/president-yoon-of-south-korea.png

एजेन्सी । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।

अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको अभियोग लगाएका थिए । उनले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडानहरू गर्न आदेश दिएका थिए । 

त्यस मुद्दाको लागि पक्राउ पूर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम छ महिना विस्तार गर्नेछ । 

दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले भने, “उहाँले आफूमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पक्राउ पूर्जी जारी गरिएको हो ।'

युन महिनौंदेखि हिरासतमा छन् र उनीविरूद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाई भइरहेको छ । उनले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए । यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन निम्त्यायो । उनलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो ।

युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो । उनी दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समयमा हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति हुन् । उनले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो । 

उनको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उनले त्यस मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने दावीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो । 

अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन् । सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ । 


Facebook Comments