Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको समानुपातिक सूचीबाट गायिका तथा चिकित्सक डा. त्रिशाला गुरुङ बाहिरिइन्

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते २१:१६
Image of https://mayorsap.com/storage/photos/shares/trisala-gurung.jpg

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश भएकी गायिका तथा चिकित्सक डा. त्रिशाला गुरुङले उम्मेदवारीबाट पछि हट्ने घोषणा गरेकी छन्।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेका मन्त्री तथा पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सिफारिसमा डा. गुरुङ रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन्। तर पछिल्लो समय पार्टीको समानुपातिक उम्मेदवार चयन प्रक्रियालाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना चुलिँदै गएपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी हुन्।

डा. गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा रास्वपाबाट समानुपातिक प्रतिनिधित्वका लागि सिफारिस हुनु आफ्नो लागि सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन्। पार्टी नेतृत्व, सम्बन्धित निकाय र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले गहन आत्ममूल्यांकनपछि उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको स्पष्ट पारेकी छन्।

उनका अनुसार, यो निर्णयको मुख्य कारण पेशागत जिम्मेवारी, कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्ने तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने दृढ संकल्प रहेकाे उल्लेख छ।

डा. गुरुङले पार्टीले आफूप्रति देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने उल्लेख गर्दै राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, उनले रास्वपाको भावी राजनीतिक यात्राका लागि शुभकामना पनि दिएकी छन्।

डा. त्रिशाला गुरुङको उम्मेदवारी फिर्तासँगै रास्वपाको समानुपातिक सूचीलाई लिएर उठिरहेको बहस थप चर्किने संकेत देखिएको छ।


Facebook Comments