एमबीबीएस अध्ययनका लागि शुक्लाफाँटा नगरपालिकाले दियो छात्रवृत्ति

पुष्पराजले पाए वार्षिक १० लाख

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १०:४६
Image of https://mayorsap.com/storage/photos/shares/suklafata nagarpalika.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्थानीय जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि विशेष छात्रवृत्ति प्रदान गरेको छ । 

नगरपालिकाको १८५औँ कार्यपालिका बैठकको निर्णयअनुसार भट्टलाई अध्ययन अवधिभर प्रत्येक वर्ष १० लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइने भएको हो ।

नगरपालिकाको ’एमबीबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि–२०८०’ बमोजिम सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब तथा विपन्न विद्यार्थीलाई चिकित्सक बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

छात्रवृत्ति पाएका पुष्पराजले शुक्लाफाँटा–७ स्थित बैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका थिए । उनी चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा २५०८औँ योग्यता क्रममा सफल भई पोखराको मणिपाल कलेजमा अध्ययन गर्ने तयारीमा छन् ।

छात्रवृत्ति प्राप्त गरेसँगै पुष्पराजले अध्ययन पूरा गरेपछि नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा चार वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ । 

आर्थिक अभावका कारण चिकित्सक बन्ने सपना अधुरै रहने चिन्तामा रहेका पुष्पराजले नगरपालिकाको यो सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा आफ्नै नगरवासीको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।


Facebook Comments