आसिफ शाहले फिर्ता लिए रास्वपाको समानुपातिक उम्मेदवारी

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १०:३२
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_20.jpg

काठमाडौं । टेलिभिजन प्रस्तोता तथा फिल्म निर्माता आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत शाहले सक्रिय राजनीतिमा भन्दा पनि राजनीतिप्रति चासो राख्ने व्यक्तिकै रूपमा रहन चाहेको स्पष्ट पार्दै उम्मेदवारी त्यागेको घोषणा गरेका हुन् ।

मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा रहेका शाहले पार्टीभित्र र बाहिरबाट समानुपातिक सूचीलाई लिएर भएको विवाद र असन्तुष्टिका कारण आफूले ’आत्ममन्थन’ गरेको बताएका छन् ।

उनले लेखेका छन्, “जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।“

आफूले बालेन, रवि र कुलमानको एकताका लागि प्रयास गरेको र सोही मिहिनेत देखेर साथीहरूले सूचीमा नाम राखेको भए पनि अहिले दुई कदम पछि हट्नु नै उपयुक्त ठानेको उनको भनाइ छ ।

साथै, उनले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा जाने आफ्नो चाहना रहेको समेत उल्लेख गरे ।


Facebook Comments