कांग्रेस कार्यालयमा कार्यकर्ताको नाराबाजी, नेताहरूलाई छिर्नै सकस

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १४:५५
Image of https://mayorsap.com/storage/photos/shares/photo_43.jpg

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय तनावग्रस्त बनेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि असन्तुष्ट कार्यकर्ताहरूले मुख्य प्रवेशद्वारमा प्रदर्शन र नाराबाजी गरेपछि नेताहरूले वैकल्पिक गेटको प्रयोग गर्नुपरेको छ ।

पार्टीलाई ‘बन्दी’ बनाउन नहुने मागसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले बैठकमा सहभागी हुन आएका नेताहरूलाई गालीगलौज गर्नुका साथै केहीसँग बाझाबाझ समेत गरेका थिए ।

बिहान ११ बजेका लागि तय गरिएको बैठक कार्यकर्ताको अवरोध र आन्तरिक छलफलका कारण दिउँसोसम्म सुरु हुन सकेको छैन ।

आजको बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीचको सिट बाँडफाँट र कांग्रेसका तर्फबाट उठाइने उम्मेदवारहरूको नाम टुङ्गो लगाउने मुख्य एजेण्डा छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलबारे प्रारम्भिक ब्रिफिङ गरेका थिए भने आज त्यसलाई औपचारिकता दिने तयारी छ ।


Facebook Comments