टोखाको ‘एक वडा, एक पार्क’ नीति वडा नम्बर ९ मा कार्यान्वयन
पूर्वाधारको पक्षमा ८५ प्रतिशत काम सकिसकेको दाबी
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते १५:४८
काठमाडौं । टोखा नगरपालिकाको ‘एक वडा, एक पार्क’ नीतिअनुसार वडा नम्बर ९ ले पार्क बनाउने प्रक्रिया सुरु गरेको छ । वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका हुन् ।
उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५ प्रतिशत काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।
उनले भने, ‘पूर्वाधारमा हामी ८५ प्रतिशत काम सकिसकेका छौं र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौं । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, ‘एक वडा, एक पार्क’ भने जस्तै, हामीले बसपार्कको नजिकै बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउँदै छौँ । झन्डै ३ रोपनी जग्गामा फैलिएको पार्कले के गर्छ भने, यो एसियाको नमुना बसपार्कको अगाडि रहेको छ । यसले टोखाको समग्र झलक दिनेछ र त्यो पार्क झनै अन्तिम चरणमा पुगेको छ ।’
यस्तै, उनले प्रतिबद्धता अनुसारको खानेपानी पुर्याउन नसकेको भन्दै त्यसको लागि यसपालि बजेट विनियोजन भएको र मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर अगाडि बढिरहेको बताए ।
उनले भने, ‘हामीले प्रतिबद्धता गरे अनुसारको एउटा खानेपानी पूर्ण रूपमा पुर्याउन सकिरहेका छैनौं। त्यसको लागि यसपालि पनि दुईटा बोरिङ गरिसक्यौँ र थप बोरिङ गर्नको लागि बजेटिङ विनियोजन गरिसकेका छौं । यसपालि हामी अर्को थप बोरिङ गरेर खानेपानीको समस्या समाधान गर्ने पक्षमा छौं । हामीले मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर हप्ताको दुई दिन जनताको घरघरमा पानी आइपुग्ने गरी सहकार्य गरेका छौँ । अहिले समग्र हेर्दा हामी काममा निकै अगाडि बढेका छौँ ।’
टोखा नगरपालिका वडा नं ९ मा रहेका सार्वजनिक जग्गा र मठमन्दिर संरक्षण गर्ने र जेष्ठ नागरिक, बालबालिका र युवाहरुको हितका लागि कार्य गरेर अगाडि बढिरहेको पनि उनको भनाई छ ।
यस्तै, उनले दिगो विकासका लागि टार्केश्वरमा पुल निर्माणको क्रममा रहेको भन्दै करिडोरलाई व्यवस्थित गर्ने, बाटोहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउने काम पनि भइरहेको जानकारी दिएका छन् ।
उनले भने, ‘दिगो विकासका लागि एउटा टार्केश्वरमा पुल निर्माण गर्यौ र त्यो पुल अन्तिम चरणमा पुगेको छ । अन्य कुराहरूको लागि करिडोरलाई व्यवस्थित गर्ने, बाटाहरूलाई व्यवस्थित र सुव्यवस्थित बनाउन धेरै काम गरिसकेका छौं । हामीले खानेपानी, ढलको काम सबै पूरा गरेर मात्र बाटो विस्तार गर्ने काम गर्छौं । अब आगामी वर्षमा हामीले गर्नुपर्ने भनेको यहाँ रहेका युवा, जेष्ठ नागरिक र जनताहरूलाई दिनुपर्ने सेवा सुविधाका लागि तत्पर भएर लाग्ने हो ।’
Facebook Comments