कांग्रेसको निर्णय: विशेष महाधिवेशन पक्षमा हस्ताक्षर फिर्ता लिन आग्रह

User Image मेयरसाप डेस्क | २०८२ पुष २४ गते १९:४८
Image of https://mayorsap.com/storage/photos/shares/congress-meeting_4.jpg

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएका हस्ताक्षर फिर्ता गराउने विषयमा छलफल भएको थियो।

यद्यपि, उक्त निर्णयमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र फरमुल्ला मन्सुरले असहमति जनाएका छन्। उनीहरूले हस्ताक्षर फिर्ता गराउने निर्णयप्रति आपत्ति जनाउँदै फरक मत राखेका हुन्।

बैठकले विशेष महाधिवेशनका लागि औपचारिक आह्वान नभएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले यसअघि जारी गरेको विज्ञप्तिलाई पार्टीको आधिकारिक धारणा मानेर अघि बढ्ने निर्णय पनि गरेको छ।

कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशन पक्षधर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन्।

पूर्णबहादुरमार्फत देउवालाई गगनको सन्देश: विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै सन्देश पठाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उक्त सन्देश सभापति देउवासम्म पुर्‍याइदिन आग्रह गरेका हुन्।

थापाले पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनका कार्यक्रममा सभापति देउवा स्वयं उपस्थित हुनुपर्ने धारणा राख्दै भने, “कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्‍याइदिनुहोला—पुस २७ गते उहाँ सहभागी हुनुपर्छ। यसले उहाँको मान पनि बढाउँछ। यहाँ बसेर हस्ताक्षर फिर्ता लिनु भन्नुभन्दा यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिनु नै विधानको मर्यादाअनुकूल हुन्छ।”

कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद सतहमा देखिइरहेका बेला नेतृत्व तहबाट आएका यी निर्णय र सन्देशले आन्तरिक राजनीतिक बहसलाई थप चर्काउने संकेत देखिएको छ।


Facebook Comments