एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउँदै पाटन नगरपालिका

एक लाख बजेट विनियोजन

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते ०९:२५
Image of https://mayorsap.com/storage/photos/shares/unblurimageai-patan9.png

बैतडी । पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ । 

आव २०७९/८० देखि एचआइभी सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । चालु आवमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउन रु एक लाख विनियोजन गरिएको उनले बताए । अहिले नगर क्षेत्रभित्र ३६ एचआइभी सङ्क्रमित रहेका छन् । उनीहरुलाई सोही रु एक लाखबाट पोषण खर्च उपलब्ध गराइने उनले बताए । 

आव २०७९/८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रतिव्यक्ति रु १२ हजारका दरले उपलब्ध गराएको छ । आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति रु ६ हजारका दरले उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको थियो । एचआइभी सङ्क्रमितलाई जीवनयापनमा सहज होस् भनेर पोषण खर्चका लागि रकम विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । 


Facebook Comments