अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

सजायमा छुट पाएका साक्षी नै प्रतिवादी

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १०:३२
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा गरेको बयानभन्दा अदालतमा फरक (प्रतिकूल) बकपत्र गरेको अभियोगमा दुई जना सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवले ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा रहेका कैलालीका प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले अदालतमा बयान फेरेपछि अख्तियारले उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा चलाएको हो ।

विशेष अदालतमा विचाराधीन मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका ठगुन्ना र साउदले बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयानभन्दा पूर्णतः फरक र तथ्यहीन ब्यहोरा लेखाएका थिए ।

अनुसन्धानका क्रममा आफूहरूले घुस दिएको स्वीकार गर्दै सजायमा छुटको सुविधा (भ्रष्टाचार निवारण ऐनको दफा ५५ बमोजिम) लिएका उनीहरूले अदालतमा पुगेपछि प्रतिवादी यादवलाई जोगाउने उद्देश्यले झुट्टा कुरा बोलेको अख्तियारको ठहर छ ।

आयोगका अनुसार, प्रतिवादी यादव र यी दुई साक्षीबीच गैरकानुनी स्वार्थ र लाभ लिने–दिने उद्देश्यले पछिबाट सम्बन्ध स्थापित भएका कारण उनीहरूले बयान फेरेका हुन् । यसरी जानीजानी झुट्टा बकपत्र गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीतको कसुर भएको आयोगले जनाएको छ ।


Facebook Comments