दमौली–केशवटार जोड्ने सडक कालोपत्रे

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते ११:३४
Image of https://mayorsap.com/storage/photos/shares/ph-dhalan-gardai.jpg

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको ९ किमि सडक पक्की गरिएको हो । कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको छ ।

गण्डकी प्रदेश सरकारको पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको अघिल्लो वर्षको बजेटबाट निर्माण कार्य बढाइएकामा उक्त कार्य सम्पन्न भएपछि अब पाँच किमि सडक कालोपत्र हुन बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘एक सातादेखि अहिले उक्त खण्डमा सवारी आवतजावत रोकिएको छ । केशवटार–कुलुड हँुदै राजमार्ग भएर दमौली जाने आउने  गरेका छन् ।’ दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लागिएको छ । 

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको रु ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारबाट एक करोड बजेट पुनः विनियोजन भएको तथा केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।


Facebook Comments