बजेट अभावले खानेपानी आयोजना ७ वर्षदेखि अलपत्र
एक हजार ४ सय परिवार अझै काकाकुल
मेयरसाप डेस्क
|
२०८२ पुष २५ गते १२:१४
भोजपुर । पर्याप्त बजेट विनियोजन नहुँदा भोजपुरको महत्वपूर्ण ’होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजना’ निर्माण सुरु भएको ७ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।
आर्थिक वर्ष २०७५–७६ बाट सुरु भएको यो आयोजना कछुवा गतिमा अघि बढ्दा स्थानीय बासिन्दा अझै पनि खानेपानीको चरम अभाव झेल्न बाध्य छन् ।
आयोजनाको कुल लागत ३० करोड ९० लाख ८२ हजार रुपैयाँ अनुमान गरिएको छ । तर, वार्षिक रूपमा न्यून बजेट मात्र आउने गरेकाले निर्माण कार्य लम्बिएको उपभोक्ता समितिका सचिव राजेन्द्र राईले बताए ।
सचिव राईका अनुसार, आयोजना प्राविधिक रूपमा जटिल छ, जसका लागि पिखुवा खोलाबाट सात तहमा लिफ्टिङ प्रणाली प्रयोग गरी पानी बस्तीमा पुर्याउनु पर्छ ।
एउटा मुख्य ट्याङ्की निर्माण र करिब चार किलोमिटर पाइपलाइन विस्तार अझै बाँकी छ । यस वर्ष जम्मा ५५ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ, जुन बाँकी काम सम्पन्न गर्न अपर्याप्त छ ।
आयोजना ढिलाइ हुँदा हतुवागढी गाउँपालिकाका वडा नं. १, ५ र ६ का करिब १,४६९ घरधुरी खानेपानीबाट वञ्चित छन् । भौगोलिक विकटताका कारण ती वडाका बासिन्दाले अहिले पनि घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यता छ ।
स्थानीय सरकार र उपभोक्ता समितिले सङ्घीय तथा प्रदेश सरकारसँग बजेट सुनिश्चित गरी आयोजना छिटो टुङ्ग्याउन माग गरेका छन् । यो आयोजना सम्पन्न भएमा स्थानीयको जीवनस्तर र स्वास्थ्यमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ ।
Facebook Comments