इरानमा सरकारविरोधी विद्रोह चर्कियो, खामेनीको सत्ता संकटमा

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १५:३१
Image of https://mayorsap.com/storage/photos/shares/photo_49.jpg

तेहरान । इरानमा आर्थिक संकट र चर्को महँगीविरुद्ध सुरु भएको आन्दोलन अहिले देशभर फैलिएर सत्ता परिवर्तनको मागमा बदलिएको छ । गत साताको आइतबारबाट सुरु भएको प्रदर्शन ३१ वटै प्रान्तका १०० भन्दा बढी सहरमा विस्तार भएको छ ।

इरानी मुद्राको अवमूल्यन र ४० प्रतिशतसम्म पुगेको महँगीका कारण व्यवसायीहरूबाट सुरु भएको यो आन्दोलनमा लाखौँ नागरिक सहभागी छन् । प्रदर्शनकारीहरूले सर्वोच्च नेता अली खामेनीको राजीनामा माग गर्दै निर्वासनमा रहेका पूर्वशाहका छोरा रेजा पहलवीको समर्थनमा नाराबाजी गरिरहेका छन् ।

मानवअधिकारवादी संस्थाहरूका अनुसार, प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ, जसमा ८ बालबालिका समेत छन्। २ हजार २ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । 

सरकारले सूचना प्रवाह रोक्न देशव्यापी इन्टरनेट अवरुद्ध गरेको छ भने सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि प्रत्यक्ष गोली प्रहार गरिरहेका भिडियोहरू सार्वजनिक भएका छन् ।

बेलायती पत्रिका द टाइम्स ले गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै ८६ वर्षीय सर्वोच्च नेता खामेनीले सत्ता संकटमा परे देश छाडेर भाग्ने ’प्लान बी’ तयार पारेको दाबी गरेको छ ।

सुरक्षा फौजले साथ छाडेको अवस्थामा उनी छोरा मोज्तबासहित २० जना निकट सहयोगी लिएर मस्को पलायन हुन सक्ने बताइएको छ । यो योजना हालै सिरियाली राष्ट्रपति बसर अल–असद मस्को भागेकै मोडलमा आधारित रहेको विश्लेषण गरिएको छ ।


Facebook Comments