वडाध्यक्ष अधिकारी खुकुरीसहित प्रहरी नियन्त्रणमा
ल्याण्डफिल साइट विवाद
मेयरसाप डेस्क
|
२०८२ पुष २५ गते १५:४२
पोखरा । पोखरा महानगरपालिका–३३ मा ल्याण्डफिल साइट बनाउने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएको छ । शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीय र वडाध्यक्ष रामचन्द्र अधिकारीबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार, स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोज्दा उत्पन्न विवादका क्रममा वडाध्यक्ष अधिकारीले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेका थिए । सोही क्रममा प्रहरीले उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।
कास्की प्रहरीले स्थिति थप जटिल नहोस् भन्नका लागि वडाध्यक्षलाई सुरक्षाका निम्ति नियन्त्रणमा लिइएको पुष्टि गरेको छ । ‘खुकुरी निकालेको विषयमा भने प्रमाण र थप अनुसन्धानपछि मात्रै आधिकारिक रूपमा बोल्न मिल्छ,’ प्रहरीले भन्यो ।
स्थानीयले भने आफ्नो क्षेत्रमा ल्याण्डफिल साइट बनाउन नहुने माग राख्दै आजै वडा कार्यालयमा ताला लगाइदिएका छन् । अहिले वडा कार्यालय वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments