बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल
मेयरसाप डेस्क
|
२०८२ पुष २५ गते १८:३६
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ५५ दिन बाँकी रहेकाले देशको सुरक्षा अवस्था संवेदनशील बनेसँगै राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ ।
समितिको आज बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती, बारुदी सुरुङको जोखिम तथा त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।
बैठकमा समिति सभापति मायाप्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिले अपनाइएका तयारी, योजना तथा चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराए ।
उनले बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थको जाँच, व्यवस्थापन र नष्ट गर्ने कार्यमा हालसम्म केकस्ता उपलब्धि भएका छन् र आगामी दिनमा कस्ता योजना अघि बढाइँदैछन् भन्ने विषयमा स्पष्ट जानकारी दिन समय उपलब्ध गराएका थिए ।
सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेलापरेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गरे । उनले विगतमा राखिएका माइन तथा विस्फोटक पदार्थका कारण नागरिकमा डर र त्रास उत्पन्न हुनसक्ने अवस्था अझै पनि विद्यमान रहेको उल्लेख गरे ।
विस्फोटक पदार्थसम्बन्धी सूचना सङ्कलन र जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले स्थानीय तहसम्म सूचनाको पहुँच विस्तार गर्न सकेमा जोखिम कम गर्न सहज हुने धारणा राखे ।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा चर्तुवेदीले ग्रामीण क्षेत्रमा विष्फोटक पदार्थ र माइनहरू कहिले गाईगोठमा कहिले खेतबारीमा भेटिने गरेको अनुभव सुनाउँदै त्यसले स्थानीय नागरिकमा त्रास उत्पन्न गराएको उल्लेख गरे। नेपाल प्रहरीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायसँगको सहकार्यमा निरन्तर सूचना सङ्कलन र निगरानी गरिरहेको उनले जानकारी दिए ।
Facebook Comments