भवनको भित्ता फोडेर ७० वर्षीया वृद्धाको जीवितै उद्धार
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १०:४६
सुर्खेत । वीरेन्द्रनगर–३ मङ्गलगढी चोकस्थित ‘मानिकेज ऊर्जा पसल’मा भएको भीषण आगलागीबाट ७० वर्षीया वृद्धा तुलसी भुसालको सकुशल उद्धार गरिएको छ । सोमबार साँझ विद्युत् सर्ट भई लागेको आगोले भवन जलिरहेका बेला चौथो तलामा बेहोस अवस्थामा रहेकी भुसाललाई सुरक्षाकर्मीले भवनको भित्ता फोडेर उद्धार गरेका हुन् ।
नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले जोखिमपूर्ण ढङ्गले वृद्धालाई बाहिर निकालेको थियो । उद्धार गरिएकी भुसालको अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विद्युतीय सामान, टायर र रबरका कारण फैलिएको आगो नियन्त्रणमा लिन ५ घण्टा लागेको थियो । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब १५० सुरक्षाकर्मीसहित दमकल र ट्याङ्करको प्रयोग गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
Facebook Comments