चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा, देउवा बाहिरै

प्रतिनिधिसभा निर्वाचन–२०८२

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १३:०४
Image of https://mayorsap.com/storage/photos/shares/4-pm.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भइरहँदा चार पूर्वप्रधानमन्त्रीहरू पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै क्षेत्र झापा–५ बाट उम्मेदवार बन्दैछन्, भने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक रुकुम पूर्व–१ रोजेका छन् ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाटै चुनावी मैदानमा छन्, भने प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्न लागेका छन् । 

अघिल्लो निर्वाचनमा प्रचण्डलाई सहयोग गरेका भट्टराई यसपटक आफैँ मैदानमा उत्रिएपछि गोरखाको राजनीति थप रोचक बनेको छ ।

यसैबीच, विसं २०४८ देखि डडेल्धुराबाट अपराजित रहँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

पार्टीको विशेष महाधिवेशन र आन्तरिक विवादका कारण उत्पन्न कानुनी जटिलताले गर्दा देउवा ३४ वर्षपछि पहिलोपटक चुनावी दौडबाट बाहिरिएका हुन् ।

मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज मनोनयन दर्ताको चटारो रहँदा दिग्गज नेताहरूको क्षेत्र परिवर्तन र देउवाको अनुपस्थितिले यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ ।


Facebook Comments