निर्वाचनमा होमिए अन्तरिम सरकारका चार मन्त्री

मन्त्री पद त्यागेर उम्मेदवारी दर्ता

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १४:१४
Image of https://mayorsap.com/storage/photos/shares/4-mantri.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार प्रभावशाली मन्त्रीहरूले पदबाट राजीनामा दिई चुनावी मैदानमा उत्रिएका छन् ।

सरकारको स्वतन्त्र छवि र निष्पक्षता कायम राख्न भन्दै राजीनामा दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुन अहिले उम्मेदवारी दर्ताको प्रक्रियामा छन् ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छाडेर मन्त्री बनेका घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरी काठमाडौँ–३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै, जेनजी आन्दोलनका अगुवा बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा–१ मा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका जगदीश खरेल पनि रास्वपामा आबद्ध भई ललितपुर–२ बाट उम्मेदवार बन्ने तयारीमा छन्, भने वैज्ञानिक महावीर पुनले म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् ।

मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज प्रत्यक्षतर्फको मनोनयन दर्ता भइरहँदा अन्तरिम सरकारका यी मन्त्रीहरूको चुनावी यात्रालाई विशेष चासोका साथ हेरिएको छ ।


Facebook Comments