चितवन–३ बाट रेनुले दिइन् उम्मेदवारी
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १५:१६
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर रेनु दाहाल आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनले आज चितवन निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
मंगलबार रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर दाहालले मनोनयन दर्ता गराइन् ।
दाहालले दुई पटक भरतपुरको मेयर रहँदा आफूले गरेका विकासका कामहरू नै जितको मुख्य आधार भएको र जनताले आफूलाई पूर्ण विश्वास गर्ने बताइन् ।
उनले आजै बिहान मात्रै मेयर पदबाट राजीनामा दिएकी थिइन् । स्थानीय सरकारमा सफल नेतृत्वको पहिचान बनाएकी दाहालको संघीय संसद्को यात्रालाई चितवनमा निकै चासोका साथ हेरिएको छ ।
Facebook Comments