‘वास’ क्षेत्रमा योगदान गर्नेलाई २० लाखको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १६:५६
काठमाडौं । पानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई यस वर्ष २० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ प्रदान गरिने भएको छ ।
सन् २०१० देखि ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ वितरण गर्दै आएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले याे वर्ष पानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई उक्त अवार्ड दिने भएकाे हाे ।
रोटरी आचारसंहिताअनुसार निष्कलंक र समर्पित भावनाका साथ आफ्नो पेशागत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्यले अवार्ड प्रदान गर्दै आएको रोटरी इन्टरनेशनले जनाएको छ ।
नेपालमा सन् १९५९ देखि रोटरी अभियान सुरु भएको र हाल देशभर १६३ वटा रोटरी क्लबमार्फत सामाजिक सेवाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र सामुदायिक सशक्तीकरणका क्षेत्रमा योगदान गर्दै आएका छन् ।
अवार्डका लागि नेपालका नागरिक, नागरिक समूह वा कानुनअनुसार दर्ता भएका संस्थाहरूले आवेदन दिन सक्नेछन् । पेशा, व्यवसाय वा सेवाक्षेत्रमा दीर्घकालीन प्रतिबद्धता, नवप्रवर्तन, उच्च नैतिकता, सामाजिक प्रभाव र उदाहरणीय कार्यलाई मूल्यांकनका आधार बनाइने रोटरीले जनाएको छ ।
आवेदन फारम रोटरी डिस्ट्रिक्ट कार्यालय, थापाथली तथा देशभरका रोटरी क्लबहरूबाट प्राप्त गर्न सकिने छ भने अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन बुझाउने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ । उक्त अवार्ड फागुन ७ देखि ९ गतेसम्म पोखरामा आयोजना हुने १३औँ रोटरी डिस्ट्रिक्ट सम्मेलनका अवसरमा प्रदान गरिने जनाइएको छ ।
Facebook Comments