लागुऔषध विरुद्ध मकवानपुरमा तीन महिने विशेष अभियान सुरु
हेटौँडा । समाजमा बढ्दो लागुऔषध दुर्व्यसनको चुनौतीलाई सामना गर्न मकवानपुरमा तीन महिने एकीकृत अभियान सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना र सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सुरु भएको यस अभियानले रोकथाम, उपचार र सामाजिक पुनः एकीकरणलाई प्राथमिकतामा राखेको छ ।
अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले लागुऔषध दुर्व्यसनलाई केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक र सुरक्षा चुनौतीका रूपमा लिनुपर्ने बताए ।
‘यो लडाइँ कुनै एक संस्थाको मात्र होइन, राज्य, परिवार र समुदाय सबैको साझा जिम्मेवारी हो,’ उनले भने ।
यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले दुर्व्यसनलाई सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिएर वैज्ञानिक र सम्मानजनक उपचार पद्धति अपनाउनुपर्नेमा जोड दिए ।
तीन महिनासम्म चल्ने यस अभियानअन्तर्गत विद्यालय तथा क्याम्पसहरूमा सचेतना, अभिभावक परामर्श, सडक नाटक, र घरदैलो कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
लागुऔषध विरुद्धको यो अभियानले समाजमा रहेको नकारात्मक सोच हटाउन र दुर्व्यसनीहरूलाई पुनः समाजमा स्थापित गराउन ठोस भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Facebook Comments