एउटै पालिकाबाट ६ जना उम्मेदवार, महिला शून्य
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते ११:०१
म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाभरबाट दर्ता भएका १३ उम्मेदवारमध्ये झन्डै आधा अर्थात् ६ जना उम्मेदवार बेनी नगरपालिकाकै रहेका छन् । बेनी नगरपालिका–२ बाट मात्रै दुई जनाले उम्मेदवारी दिएका छन् भने यसपटक म्याग्दीबाट कुनै पनि महिलाको उम्मेदवारी परेको छैन ।
बेनी नगरपालिकाबाट एमालेका हरिकृष्ण श्रेष्ठ, रास्वपाका युवराज रोका, राप्रपाका डम्मरबहादुर सुवेदी, माओवादीका क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी र स्वतन्त्र नवीन जिसी चुनावी मैदानमा छन् ।
त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं निवर्तमान शिक्षा मन्त्री डा. महावीर पुनले अन्नपूर्ण गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पुनलाई समर्थन गर्दै नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै १३ उम्मेदवारको मनोनयन सदर भएको छ । म्याग्दीमा यसपटक कुल ८६ हजार ३९७ मतदाता छन्, जसका लागि ८२ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएको छ ।
Facebook Comments