विपद्बाट देशभर ४२४ जनाको मृ*त्यु, आगलागीको जोखिम उच्च
सावधानी अपनाउन प्राधिकरणको आग्रह
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १२:१८
काठमाडौं । गत वैशाखदेखि हालसम्मको १० महिनामा नेपालले विपद्का कारण ठुलो मानवीय र भौतिक क्षति बेहोरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६ वटा विपद्का घटनाहरू भएका छन् ।
यी घटनाहरूमा परेर ४२४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६४३ जना घाइते भएका छन्। विपद्कै कारण ३८ जना अझै बेपत्ता छन् भने ११ हजार ५३५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार, सबैभन्दा बढी क्षति आगलागीका कारण भएको छ । देशभर २ हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको मृत्यु भएको छ भने ४४२ जना घाइते र २ हजार ९९६ परिवार प्रभावित भएका छन् ।
त्यसैगरी पहिरोका ५७७ घटनामा ७१ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता र ८० जना घाइते भएका छन् । अन्य प्रमुख विपद्हरूमा ५८० वटा सर्पदंशका घटना, ४२७ भारी वर्षा, ४२२ जनावरको आक्रमण, ३५२ चट्याङ र ३१६ बाढीका घटनाहरू रहेका छन् ।
प्राधिकरणले हुरीबतासका २९०, वन डढेलोका १८६, लेक लागेका १०५ र हिउँ पहिरोका ५ वटा घटना रेकर्ड गरेको छ । यसका साथै ७ वटा भूकम्प, २ वटा डुङ्गा दुर्घटना तथा असिनापानी, शीतलहर, महामारी र हवाई दुर्घटनाका १–१ वटा घटनाहरू भएका छन् ।
पछिल्लो समय विशेष गरी आगलागीका घटनाहरूमा निकै वृद्धि भएको भन्दै प्राधिकरणले सामान्य सावधानी अपनाएमा यस्ता दुर्घटनाबाट जोगिन सकिने स्पष्ट पारेको छ ।
Facebook Comments