जियोकले २५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १७:२२
काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो पर्यवेक्षण कार्य सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सहयोग पुर्याउने उद्देश्यले समितिले करिब ४०० पर्यवेक्षकलाई देशभर खटाएको हो ।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार, सातै प्रदेशका ३५ जिल्लाका २५० पालिकामा पर्यवेक्षण गरिनेछ । यसका लागि छनोट भएका पर्यवेक्षकहरूलाई आवश्यक प्रशिक्षणसमेत दिइसकिएको छ । जियोकमा नेपाल कानुन समाज, संविधान निगरानी समूह र नेपाल प्रेस इन्स्टिच्युटलगायत ११ वटा संस्थाहरू आबद्ध छन् ।
विगत २०४८ सालदेखि नै विभिन्न निर्वाचनहरूको पर्यवेक्षण गर्दै आएको जियोकले निर्वाचनअघि, निर्वाचनको दिन र निर्वाचनपछिको अवस्थाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछ । समितिले पर्यवेक्षण कार्यमा आवश्यक सहयोग पुर्याउन निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूलाई समेत अनुरोध गरेको छ ।
Facebook Comments