गफले होइन श्रम गरेर मात्र देश बन्छ : अध्यक्ष साम्पाङ

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १६:१६
Image of https://mayorsap.com/storage/photos/shares/harka-sampang-photo.jpg

दमौली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमविना देशको विकास असम्भव रहेको बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा आज स्थानीय बासिन्दासँगको भेटघाटका क्रममा अध्यक्ष साम्पाङले मुलुक निर्माणका लागि गफभन्दा श्रम अनिवार्य रहेकोमा जोड दिए ।

गफलाई भन्दा श्रमलाई प्राथमिकता दिने आफ्नो पार्टी मात्रै रहेको दाबी गर्दै साम्पाङले सबै जनता उत्पादनशील कार्यमा जोडिनुपर्ने बताए । 

उनले भने, ‘हाम्रो देशमा काम गर्ने मानिसलाई हेप्ने र गफ गर्नेलाई सम्मान गर्ने गलत संस्कार छ। यो सोच नबदलेसम्म देश कहिल्यै अगाडि बढ्दैन। श्रम गरेर नै देशलाई स्वाधीन बनाउनुपर्छ।’

अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरूले विकासका नाममा भाषण र आश्वासन मात्र बाँडेको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमै उतारेको दाबी गरे ।

नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी र गरिबी जस्ता समस्या समाधान नहुने र युवा जनशक्ति विदेशिने क्रम नरोकिने उनको भनाइ थियो । 

उनले विदेशी सहयोग र अनुदानको भर पर्नुको साटो आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत देश निर्माणमा लाग्न सबैलाई आग्रह पनि गरे ।


Facebook Comments