मधेस र काठमाडौं जोड्ने पुल बन्न चाहन्छु : गगन थापा
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १६:३०
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसका मुद्दाहरूलाई नजिकबाट बुझ्न र काठमाडौंसँगको सम्बन्धलाई थप बलियो बनाउन आफूले सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् ।
मनोनयन दर्ताको ६ दिनपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र पुगेका थापाले एक भिडियो सन्देश जारी गर्दै मधेसको साइनोलाई औपचारिक मात्र नभई भावनात्मक बनाउनुपर्नेमा जोड दिए ।
पहाडमा पुख्र्यौली घर भई काठमाडौंमा हुर्किएको भए पनि चुनावी माध्यमबाट मधेससँग नजिकिँदा सिङ्गो नेपालको समस्या समाधानमा मद्दत पुग्ने उनको विश्वास छ ।
सभापति थापाले आफूलाई तीन पटकसम्म निर्वाचित गराउने काठमाडौं–४ का मतदाताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै त्यहाँका बासिन्दासँगको सम्बन्ध परिवारजस्तै प्रगाढ रहेको उल्लेख गरे ।
पार्टी सभापति भएपछि क्षेत्र परिवर्तन नगर्न धेरै सुझावहरू आए पनि मधेसको आवाज काठमाडौंमा र काठमाडौंको सन्देश मधेसमा पुर्याउने उद्देश्यले नयाँ क्षेत्र रोजेको उनको स्पष्टोक्ति छ ।
उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताउँदै थापाले सबै वर्गको अधिकार सुनिश्चित भएपछि मात्र देशमा वास्तविक एकता सम्भव हुने टिप्पणी गरे ।
Facebook Comments